
काठमाण्डौं: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन बाटा अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने नेपाली काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । काठमाण्डौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताउनु भएको हो ।
वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने सभापति देउवाले प्रष्ट विचार राख्नु भएको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बुढानिलकण्ठबाट जानकारी दिनुभयो । पोखरेलका अनुसार पार्टीका महामन्त्री गगन थापासंग समन्वय गरेर यस विषयमा काम गर्नु पार्टीको तर्फबाट म पनि महामन्त्रीलाई भन्छु भन्नु भएको बताउनुभयो ।
सरकारले “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२” जारी गर्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरुलाई एउटै छाता ऐनमा समेट्नखोजेपछि धरानका राजनैतिक दलहरु त्यसलाई सच्याउन माग गर्दै काठमाण्डौंमा सरकार र दलका नेताहरुलाई ध्यानाकर्षण गराउँदै आइरहेकाछन् ।
बीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने र छाता ऐनबाट अलग गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस, नेकपा, (एमाले), नेकपा (माओवदी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल असार १२ गतेदेखि काठमाण्डौंमा अभियान चलाईरहेकाछन् ।
टोलीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस महामन्त्री गगन थापालाई भेटेर ध्यानाकर्षण गराइसकेको छ । टोलीले आज सभापति शेरबहादुर उेउवाको निवासमै पुगेर भेट गरेको हो ।
टोलीमा नेकपा (एमाले) कोशी प्रदेश मौसम राई, नेपाली काग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र) धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू र धरान उपमहानगर प्रवक्ता तथा १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज), सहभागी रहेकाछन् । टोलीमा एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठ तथा कांग्रेसका युवा एवम् यातायात व्यवसायी नेता सरोज सिटौला लगायत सहभागी रहनु भएको छ ।