
धरान: निर्वाचित भएर पद सम्हालेपछिको पहिलो बैठकबाटै बेमेलको सिर्जना भएको धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुबीच फेरि अर्को विषयले तनाव सिर्जना गरेको छ ।
श्रमदानको नाममा डोर हाजिर गरेर रकम निकासा गरेको भन्दै मेयरको बिल उपमेरले पास गर्न नदिएपछि मंगलबार धरानमा दिनभर मेयर पक्ष र उपमेयर पक्ष बिच तनावको स्थिति पैदा भएपछि विहीबार उनीहरुले आ–आफ्नो वास्तविक कुरालाई पत्रकारमाझ राखेका थिए ।
२०७९ सालको स्थानी निर्वाचनबाट जित हात हासिल गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र दलबाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यबीचको बेमेल पहिलो बैठकमै छताछुल्ला अगाडि आयो ।
धरान १७ को संप्तरगी पार्कमा वहुजातीय संग्राहालय बनाउने विषयलाई मेयर राईले प्रस्ताव अगाडि सारेपछि अन्य जनप्रतिनिधिहरुले उपयुक्त ठाउँ नभएको र यसलाई पार्ककै रुपमा अगाडि बढाउने अन्य जनप्रतिनिधिहरुले अडान राखेपछि कार्यकालिकाभित्रै चर्काचर्की भएपछि लामो समय कार्यपालिका बैठक बसेन ।
पहिलो गाँसमै ढुंगा भने झै निर्वाचित भएर आएपछि मेयर राईले कार्यपालिका बैठक कक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएको विषय, खानेपानीको महसुल वृद्धि गरेको विषय लगायत अनेकौ विषयमा विवाद भइ नै रहयो । विगतमा उपमेयर अइन्द्र विक्रम बेघाले मेयर राईलाई समर्थन गरेर अगाडि बढ्दा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा र नेकपा माओवादी र कार्यपालिका सस्यहरु एकापटि रहेका थिए । उपमेयर बेघाले भने मेयर राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि कित्ता परिवर्तन गरेर मेयर राइको समर्थन छोड्नु भएको थियो । यी यावत घट्ना क्रम बढ्दै जाँदा बीचमा केही सहज भए पनि मंगलबारबाट फेरि मेयर राई र उपमेयर बेघाबीच मनमुटाव उत्पन्न भएको छ ।
दुवैको मनमुटावकै कारण मंगलबार दिन भर उपमहानगरपालिकाको प्रांगण तनावग्रस्त बन्यो । विहीबार मेयर र उपमेयर दुवैले तनाव उत्पन्न भएको विषयमा आ–आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनकै आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनम बोल्दै उपमेयर बेघाले श्रमसदानको नाममा श्रमदातालाई डोर हाजिर गराएर स्थानीय सरकार सञ्चालन ऐन २०७४ विरुद्धमा मेयर राईले कानुनको खिल्ली उडाएकोमात्र हैन अन्य ६ वटा योजना नियम विपरीत सञ्चालन गरेको आरोप लगाउनुभयो । उहाँले नियम विपरीत भएका कामको अनुगमन नगर्ने र योजना स्वीकृत नहुने बताउनुभयो ।
यता आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मेयर हर्कराज राईले भने नियम विपरीत कुनै काम नगरेको आपत्तकालीन अवस्थामा खोलाले क्षति नपुराओस् भन्ने अभिप्रायले सम्बन्धित वडासँग समन्वय गरेर उपभोक्ता समिति निर्माण गरी तारजाली लगाएको तर श्रमदाताको फर्जी डोर हाजिर नगरेको बरु उपमेयरले काम गर्न नदिएको अरोप लगाउनुभयो ।
यद्यपि धरान १६ म भएको तारजालीको काममा धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले मेयर राईले आफूलाई जानकारी नदिई सम्बन्धित वडाको स्थानीयबासीबाट उपभोक्ता समिति गठन गरेर काम शुरु गर्नुपर्ने भएपनि धरान–१४ का प्रसाद राई, सत्य घले, समीर तामाङ लगायतको समिति बनाएर नियम विपरीत काम अगाडि बढाएको आरोप लगाउनु भएको छ ।
यसैबीच पूर्व जनप्रतिनिधिहरुले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको महत्कांक्षी स्वभावले धरानमा जनप्रतिनिधिहरु बीच बेमेलको सिर्जना हुदै आएको बताउनु भएको छ । अरुलाई गन्दै नगनी आफू नै सर्वेसर्वा ठानेर अन्य जनप्रतिनिधिहरुलाई बेवास्ता गरेर अगाडि बढ्ने रोगका कारण धरान उपमहानगरपालिका जहिल्यै अनिर्णयको बन्दी बनेको बताउनुभयो ।
पछिल्लो समय धरान उपमहानगरपालिका जनप्रतिनिधिहरू बीचको आपसी बेमेलका कारण धेरैजसो समय विवादमा रहदै आएको छ । स्वतन्त्र उमेद्वार हर्कराज राईलाई कतैबाट दबाब नआउँदा उपमहानगरपालिकाको काम कारबाहीमा आफ्नो ढंगबाट अगाडि बढ्न खोज्ने र त्यसलाई जनप्रतिनिधिहरुले रोक्ने प्रयास गर्दा यो समस्या आएको हो । धरानकौ विकासलाई ध्यान राखेर बेमेलको अवस्था सिर्जना हुन नदिने वातावरण मिलाउन धरानका सर्वसाधारणले जनप्रतिनिधिहरुलाई आग्रह गर्दै आइरहेका छ्न् ।