
धरान: महिला फुटबल खेललाई प्रवद्र्धन गर्न धरानमा विभिन्न स्थानमा क्लब गठन भएका छन् । तर पुरुष प्रतियोगिताको दाँजोमा महिला लक्षित प्रतियोगिता धरानमा नगन्य रुपमा हुने गरेको छ । तर पहिलो पटक धरान उपमहानगरपालिकाले स्व. मदन भण्डारीको स्मृतिमा महिला क्लब स्तरीय फुटबल प्रतियोगिताको आयोजनका लागि झिनो बजेट छुट्याएपछि पहिलो पटक धरानमा महिला लक्षित क्लब स्तरीय प्रतियोगिताको आयोजना गर्न लागिएको छ ।
धरान फुटबल खेलको उर्वरभूमि हो । यहाँ पुरुषलाई लक्षित गरी धेरै फुटबल प्रतियोगिता हुने गरेका छन् । वडास्तरीय गोधुली फुटबल प्रतियोगितादेखि मोफसलकै सबै भन्दा पुरानो गोल्डकप बुढासुब्बा गोल्डजस्ता दर्जनौ पुरुष खेलाडी लक्षित प्रतियोगिता हुन्छन् । महिला खेलाडीको इच्छा अनुरुप महिलाहरुले क्लब स्थापना गरे पनि प्रतियोगिता खासै हुदैनन तर पहिलो पटक उपमहानगरपालिकाको बजेटमा धरान सिटी फुटबल क्लबले धरानका महिला क्लब स्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिता असार ६ गतेदेखि १४ गतेसम्म धरान १६ स्थित रंगशालामा हुने भएको छ । पहिलो पटक स्थानीय सरकार धरान उपमहानगरपालिकाले महिला लक्षित फुटबल प्रतियोगिताका लागि बजेट विनियोजन गरेकोले क्लब स्तरीय महिला फुटबल प्रतियोगिताकोे आयोजना गर्न लागिएको धरान सिटी क्लबका अध्यक्ष पूर्व खेलाडी प्रेम घिमिरे (सागर) ले जानकारी दिनुभयो ।
नकआउटको आधारमा खेलाइने सो प्रतियोगितामा अल स्टार फुटबल क्लब, धरान वुमेन्स फुटबल क्लब, प्रगतिशिल फुटबल क्लब, धरान ४ फुटबल क्लब, फेयर फुटबल क्लब, धरान १३ स्पोर्टिङ फुटबल क्लब, सिग्मी फुटबल क्लब र पटनाली फुटबल क्लबको सहभागिता रहने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगितामा ३ लाख ८५ हजार आय र ३ लाख ५४ रुपैया बराबरको खर्चको अनुमान गरे पनि धरान उपमहनगरपालिकाले १ लाख ५५ हजारमात्र प्रदान गरेको छ । बाकी रकम विभिन्न संघ संस्था, सहयोगी संघ संस्था, खैलप्रेमीबाट संकलन गरिने आयोजकले जनाएको छ ।
महिला खेलको प्रवद्र्धनमा धरान नगर स्तरीय क्लबमा आवद्ध महिलाहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उत्कृष्ट खेलाडीले नगद ५ हजार र उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट कोच र उदयीमान खेलाडीलाई जनही नगद २ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाली महिला फुटबल खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेको दृष्टान्त विगतका प्रतियोगितामा राज्य अनविज्ञ छैन । तर महिला खेलका लागि राज्यले खासै चासो देखाएको छैन भने खेलाडी उत्पादनका लागि यथेष्ट बजेट समेत छुट्याएको छैन । तर ग्रास लेबलबाट आयोजना गरिने यस्ता प्रतियोगिताले भने महिला फुटबल खेलको विकास, व्यवसायीकरणमा थप सहयोग भने अवस्य पुग्नेछ । महिला लक्षित प्रतियोगिताका लागि तीनै तहका सरकारले यथेष्ट बजेट छुट्याउन सके खेलाडी उत्पादनमा सहयोग पुग्नेमा दुई मत छैन ।