
धरान: साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालिकामा गाभिएपछि ४ नं. वडा बनेपनि धरान उपमहानगरपालिकाभन्दा अलग पहिचान बोकेको छ । यो वडा उपमहानगरपालिकामा गाभिए पनि अन्य वडाको दाँजोमा विकासले फड्को मार्न सकेको छैन ।
धरान उपमहनगरपालिका वडा नं. ४ पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको झण्डै दश बर्ष पुग्न लागे पनि यो वडा सडक सञ्जाल, खानेपानी तथा सञ्चारको क्षेत्रमा पछाडि रहेको छ । उपमहानगरपालिकामा गाभिए पनि यस वडामा अधिकांश सडक कच्ची छन्, खानेपानीको समस्याले सर्वसाधारण अझै सास्ती भोग्नु परेको छ भने प्रविधिको विकाससँगै सञ्चारको सुविधा समेत छैन । अहिलेसम्म यो वडामा ३ सय मिटर सडकमात्र कालोपत्रे बनेको छ । खानेपानीको समस्याले सर्वसाधारणको जीवन कष्टकरमै वित्दै आएको छ भने कृषि पकेट क्षेत्रको रुपमा लिएको यो वडामा सिंचाईको सुविधा नहुदा कृषकहरुले कृषि सामाग्री राम्ररी उत्पादन गर्न सकेका छैनन् । सञ्चारका टावरहरु कही पनि नभएकाले मोवाइलमा टावर नपिन्ने समस्या उत्तिकै छ ।
धरान उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईले धरान ४ मा तीनवटासमस्या भएको बताउनुभयो । सडक सञ्जाल, टेलिफोनको सहज पहुच नभएको र खानेपानीको समस्या भएको बताउदै हिउँदमा धुलाम्मे बाटो तथा बर्षामा हिलाम्मे बाटो छिचोलेर यस वडाका विभिन्न ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले बाढी पहिरोको समस्या भए पनि पुल पुलेसा बनाउन नसकिएको बताउदै पुलपुलेसाहरु निर्माण नगर्दा सर्वसाधारणलाई आवातजावतमा समस्या भएको बताउनुभयो । उहाँले स्व.मेयर तारा सुब्बा, कावा मेयर मञ्जु भण्डारी तथा मेयर तिलक राईसँगै अहिलेका स्वतन्त्र उमेद्वारबाट मेयर बन्नु भएका हर्कराज राईको पालामा समेत यस्ता समस्या समाधान हुन नसकेको बताउनुभयो ।
अहिले समग्र वडाका विकासका लागि उपमकानगरपालिकाले १५ लाख विनियोजन गरेको बताउदै यति बजेटले समस्यै समस्या भएको वडामा काम गर्न समस्या भएको बताउनुभयो ।
४ नं. वडा धरान १५ पछिको नगरकै दोस्रो ठूलो वडा हो । भौगोलिक रुपमा कठिनाई भएको यो ठाउँमा सानोतिनो बजेटले काम गर्न नै समस्या हुने र कम बजेटबाट गरेको काम नदेखिने वडा सदस्य राजन राईले बताउनुभयो । उहाँले कामगर्न पनि बढी बजेट चाहिने भएकोले बजेटको अभावका कारण धेरै काम गर्न नसकिएको बताउनुभयो ।
धरान ४ लाई कृषि पकेट क्षेत्रसँगै पर्यटकीय हव बनाएर धरान उपमहानगरपालिकाको आम्दानी गर्ने आधारहरु धेरै भएपनि त्यो गर्न नसकेकौ वडाध्यक्ष राई बताउनुहुन्छ । उहाँले हिउँदका समयमा धुलाम्मे भएर आन्तरिक पर्यटक आउने गरे पनि बर्षाद्को समयमा सडक हिलाम्मे हुने, सडक सञ्जाल बन्द हुने भएकोले पर्यटक पवद्र्धनमा समस्या भएको उहाँले बताउनुभयो ।
वास्तवमै धरान उपमहानगरपालिका अन्य स्थानीय तह भन्दा सफा, सुन्दर र विकास भएको स्थानीय तह हो । तर उपमहानगरपालिकाको वडा नं. ४ र २० अन्य वडाको तुलनामा पिछडिएको वडा हो । बजेट विनियोजन गर्दा पिछडिएको वडालाई बढी प्राथमिकतामा राख्नुपर्ने भएपनि उपमहानगरपालिकाले त्यो गर्न नसक्दा जनताले पाउनुपर्ने अत्यावश्यक सुविधाबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ । यसतर्फ धरान उपमहानगरपालिकाको अहिलेसम्म आँखा पुग्न सकेको छैन ।