
धरान:कोशी प्रदेश फुटबल संघद्वारा आयोजित चार दिने एसियाली फुटबल काउन्सिल लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज बिहिबार समापन भएको छ।
धरानको एन्फा एकेडेमीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री कार्यक्रमका प्रमुख अतिथी उमेश थापाले खेलकुद क्षेत्रमा राज्यबाट कम बजेट बिनियोजन हुने र त्यो बजेट सबै बिधामा बाडिने भएकोले खेल क्षेत्र सोचे जति बिकास हुन नसकेको बताउनु भयो।
उहाँले यो विषम परिस्थितीमा पनि कोशी प्रदेश फुटबल संघले एसियाली फुटबल काउन्सिल लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नु भयो।
थापाले धरानमा संचालित एन्फा ऐकेडेमीलाई र फुटबल खेल सहित अन्य खेलकुदको क्षेत्रमा प्रदेश र केन्द्र सरकार बाट बजेट सहित अन्य सहयोगको लागि पहल गर्ने पतिबद्वता व्यक्त गर्नु भयो।
उक्त कार्यक्रममा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले चार दिनको प्रशिक्षणमा सिकेको ज्ञानलाई कोशी प्रदेशको विभिन्न जिल्लाबाट सहभागी प्रशिक्षकलाई आफुले सिकेको ज्ञान आफ्नो क्षेत्रको फुटबल खेलमा प्रयोग गर्न आग्रह गर्दै यश प्रकारको कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने बताउनु भयो।
कार्यक्रममा एन्फा टेक्निकल डाइरेक्टर पूर्व कप्तान हरि खड्का, शिव लामिछानेले प्रशिक्षार्थीहरूलाई आत्मविश्वास साथ तालिममा सिकेको सीप आफ्नो क्षेत्रमा प्रयोग गर्न सुझाव दिए।
एन्फा टेक्निकल सेन्टरमा आवासीय प्रशिक्षणमा कोशी प्रदेशका जिल्लाहरूबाट आएका ६० जना प्रशिक्षार्थी सहभागी भएका थिए । ‘डी’ क्लासको प्रशिक्षणबाट उत्तीर्ण प्रशिक्षकहरू एफसी मान्यता प्राप्त भई यु–१७ का नयाँ फुटबल खेलाडीलाई प्रशिक्षण दिन योग्य मानिने छन् । सो प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र पनि बितरण गरेको थियो।