
धरान: देशभरका शिक्षक काठमाण्डौ केन्द्रित आन्दोलनाम होमिएका बेला धरान उपमहानगरपालिकाले वैशाख ७ गतेबाट कक्षा ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालनार्थ तालिकासमेत प्रकाशन गरिसकेको अवस्थामा नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले परीक्षा रोक्न उपमहानगरपालिकालाई आग्रह गरेको छ ।
उनीहरुले धरान उपमहनगरपालिका मेयरकै कार्यकक्षमा पुगेर महासंको आव्हानमा शिक्षकहरूले २०८१ माघ २० गते चरणबद्ध विविध मागसहित आन्दोलनमा होमिएको अवगत गराउदै धरानका शिक्षक समेत २०८१ चैत्र २० गतेबाट काठमाडौं केन्द्रित सडक आन्दोलनमा सक्रिय रहेकोले शिक्षकहरुको जायज मागको सम्बोधन नहुन्जेलसम्म परीक्षा स्थगित गर्न माग गरेका हुन् ।
समितिका सचिव राजनकुमार वमले शिक्षक महासंघले २०८१ चैत्र २५ गतेबाट अनिश्चितकालीन शैक्षिक हडताल आह्वान गरेको र देशभरबाट शिक्षकहरू काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी बन्नुपर्ने परिस्थिति सिर्जना भएका कारण वैशाख ७ गतेबाट कक्षा ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालनार्थ तालिकासमेत प्रकाशन गरिसकेको अवस्थामा हाललाई उक्त परीक्षा शिक्षकहरुको जायज माग पूरा भई सडकबाट विद्यालय नफर्कुन्जेलसम्म स्थगन गरिदिन आग्रह गर्नुभयो ।
उनीहरुले मेयर हर्कराज राईलाई विज्ञप्ती बुझाउदै आफ्ना जायज मागहरूलाई पूरा गराउन शिक्षकहरूले सडकलाई माध्यम बनाएर सरकारसँग संघर्ष गर्नुपर्ने कुरा निकै नै दुखलाग्दो भएको बताएका छन् ।
गुणस्तरीय विद्यालाय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यस आन्दोलनमा धरान उपमहानगरपालिकाको कार्यालयको पूर्ण साथ समर्थन र ऐक्यबद्धता रहने मेयर साम्पाङसमक्ष उनीहरुले अपेक्षा राखेको समेत ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
विद्यार्थी भर्ना कार्यक्रम लिई अभिभावकका घरदैलामा पुग्नुपर्ने अवस्थामा शिक्षकलाई सडकमा आउन बाध्य पार्ने राज्यसत्तालाई शिक्षकका मागहरू पूरा गराउन आन्दोलनमा होमिएको आन्दोलन परिचालन समितिका संयोजक आशबहादुर राईले बताउनुभयो ।
ज्ञापनपत्र बुझिसकेपछि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले तालिका समेत प्रकाशित भइसकेको कुरालाई रोक्न समस्या भएकोले सहयोग गर्न समस्या हुने शिक्षकहरुलाई बताउनु भएकौ थियो ।
अहिले देशभरिका शिक्षाहरु सामुदायिक विद्यालय बन्द गरी नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखी आन्दोलनमा होमिएका छन् । यसले गर्दा सामुदायिक विद्यालयका शैक्षिक गतिविधि नै ठप्प भएको छ ।