
कोशी प्रदेशले मनाउन लागेको पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
सुनसरीको इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेको पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार कार्यक्रमको उद्घाटन चैत २७ गते हुने छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले जानकारी दिनु भयो ।
मन्त्री मण्डलका अनुसार रोजगारीको वृद्धि र राष्ट्रिय पूँजी निर्माणका लागि पर्यटन क्षेत्रको दिगो विकासको आवश्यक्ता महसुस गरी कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउन लागिएको हो । यसको उद्घाटन लालीगुरास नगरपालिकाको तीनजुरेमा गरिने उहाँको भनाई छ ।
कार्यक्रममा वन तथा वातावरण समिति सभापति रामदेब यादव, प्रदेश सांसदहरु रामप्रसाद मेहता, निरा खनाल, मिना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयलको सचिवालयद्वारा आयोजित कार्यक्रममा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारीबारे सुनसरीका सञ्चारकर्मीहरूसँग छलफलको आयोजना गरिएको थियो ।
मन्त्रालयले दिएको जानकारी अनुसार पर्यटन वर्षमा १६ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भारतीय पर्यटक भित्र्याउने मूख्य उद्देश्य रहेको छ ।