
धरान: पहाडी क्षेत्रमा हिजो र तराई क्षेत्रमा आज होली पर्व धुमधामका साथ मनाइदै छ । पछिल्लो समय होली पर्व रंगहरुको पर्व मात्र नभई आपसी सद्भाव कायम गर्ने पर्वको रुपमा कायम भएको छ । विगतका तिक्तकतालाई विर्सेर आत्मीयता साट्ने पर्वको रुपमा विगतदेखि नै पत्रकारहरुले राजनीतिक दल विभिन्न संघ संस्थाहरुसँग होली पर्व मनाउदै आएको छ। यस बर्ष पनि यसले निरन्तता पाएको छ।
राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारकर्मीको सम्बन्ध सबैसँग हुन्छ । परिस्थितिका बावजुद समुदायमा समाचारको माध्यमबाट विभिन्न संघ संस्था समुदाय, जातजातिसँग सम्बन्ध राम्रो भए पनि कतिपय ठाउँमा समाचारकै कारण सम्बन्ध राम्रो नहुने परिस्थिति पैदा हुन्छ । यसलाई मध्यनजर गरी होली पर्वले सबैसँग आत्मियता बढोस् भन्ने अभिप्रायले पत्रकारहरुले सबैलाई एकै ठाउँ उभ्याएर होली पर्व मनाएको छ । सबै व्यस्ता रहने यस्ता संघ संस्थालाई बर्षमा एक पटक होली पर्वको माध्यमबाट आत्मीयता बढाउन पनि होली पर्व मनाउन थालिएको हो ।
नेपाल पत्रकार महासंघ सुनसरीको भवनमा मनाइएको होली पर्वमा अग्रज पत्रकार हर्ष सुब्बाले हरेक जातजातिको बसोबास भएको धरानमा होली पर्वको माध्यमबाट सद्भाव कायम हुने बताउनु भयो ।
यस्तै नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले होली पर्व सबैसँग आत्मीयता गास्ने पर्वको रुपमा स्थापित भएकोले यो पर्वले सद्भाव कायम हुनेमा जोड दिनुभयो ।
यस्तै नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले धरानमा सबै जातजाति तथा धर्म बसोबास भएको बताउदै सद्भाव कायम गर्न होली पर्वले ठूलो महत्व राख्ने बताउनुभयो ।
यस्तै जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्बुले विगतका तिक्ततालाई थाँती राखेर र आत्मीयता बढाउने काम होली पर्वले गर्ने बताउनुभयो ।
महासंघले आयोजना गरेको होली कार्यक्रममा वक्ताहरुले भनेजस्तै धरानमा होली पर्व सबै समुदाय, धर्म सँस्कृति तथा जातजाति एक ठाउँमा सहभागी भएर होली पर्व मनाएको दृश्यले साथर्कता पाएको छ । होली पर्वलाई आत्मीयता साट्ने पर्वको रुपमा मनाउने गरिएकोले क्लोथ फाउन्डेशन, स्कोन मन्दिर लगायतले आफ्नै आयोजनामा गरेको कार्यक्रमले नेपालमा सबै जातजाति, धर्म तथा सँस्कृतिप्रति सबैको समान व्यवहार छ भन्ने प्रमाणित गरेको छ । नेपालीहरुको सद्भाव खल्बलाउने तत्वलाई यस बर्ष हर्षोल्लासँग सबै जातजाति, धर्म मान्नेहरुले आपसी सद्भावसहित मनाइएको होली पर्वले एकताको सन्देश प्रवाह गरेको छ ।