धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नवनिर्मित फार्मेशी, जलन र क्यान्सर भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेलले उद्वघाटन गर्नु भएको छ।
आज बिहिबार मन्त्री पौडेलले भवन उद्वघाटन गर्दै सोचेको भन्दा भव्य र उत्कृष्ट भएको बताउदै फार्मेसी सेवालाई नेपाल सरकारको परिकल्पना अनुरुप सञ्चालन गर्न निर्देशन दिनु भएको छ। फार्मेसीमा भएको औषधीहरु एवम् सो को मूल्य तालिका समेत सार्वजनिक गर्नेगरि राख्न अनुरोध गर्नुभएको छ । नेपालमा स्वास्थ्य जनशक्ति पलायनको अवस्था भएकोले निरुत्साहित गर्न स्वास्थ्यकर्मीहरुलाई सहज एवम् तनावरहित वातावरणमा कार्य गर्न दिनु आजको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले स्वास्थ्यकर्मीहरुलाई सम्मान दिइने विभिन्न सुविधाहरुमा कटौती गर्न नमिल्ने भनि आफ्नो धारणा रहेको बताउनु भयो । यो प्रतिष्ठानमा २ सय जना विद्यार्थी पठन पाठन गर्ने क्षमता भएता पनि सो नभएको र त्यसका लागि नीतिगत संशोधन गर्नुपर्ने जरुरी भएको बताउनु भयो । स्वास्थ्यकर्मीहरुलाई निजामति कर्मचारी ऐन भन्दा स्वास्थ्य सेवा ऐनको खाँचो रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले स्वागत मन्तव्य दिंदै प्रतिष्ठानको गरिमा र स्वास्थ्य सेवा अझ प्रभावकारी पार्न एउटा अझ नयाँ कोसेढुंगा थपिएको बताउनु भयो ।
धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले प्रतिष्ठानका समस्याहरु समाधान गर्न सरकारको ध्यानाकर्षण गराउदै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी विभिन्न समस्याहरु सामना गर्दै आफु झै प्रतिष्ठानको विकासमा निर्णय लिन नडराउने खालको व्यक्तित्व भएको बताउनु भयो । यसैक्रममा स्वास्थ्य मन्त्रलयको सचिव डा. पोखरेलले प्रतिष्ठानमा हालको उपकुलपतिको नेतृत्वमा भएका विभिन्न कार्यहरु अब धरातलमा पनि देखिन थालेको बताउदै अब प्रतिष्ठानले फार्मेसी सञ्चालन गर्ने र क्यान्सर बिरामीलाई सेवा नेपाल सरकारको योजना अनुरुप उपलब्ध गराउने भनि विश्वास लिएको बताउनु भयो ।
प्रतिष्ठानको लगानीमा निर्मित उक्त भवनमा भुईतलामा फार्मेसी सेवा सञ्चालन ल्याइएको छ । पहिलो तल्लामा क्यान्सरका विरामीहरुको उपचारका लागि २० शैय्याको वार्ड सञ्चालनमा ल्याइएको छ । विगत केहि वर्षदेखि प्रतिष्ठानको मेडिसिन वार्डमा राखेर क्यान्सर रोगीहरुका उपचार गरिदै आइएको थियो र सो सेवालाई अझ प्रभावकारी र चुस्तदुरुस्त रुपले सञ्चालन गर्न छुट्टै वार्ड सञ्चालनमा ल्याइदैछ । त्यसैगरी, दोश्रो तल्लामा विभिन्न कारणले जलेर आएका विरामीहरुको उपचारका लागि सञ्चालनमा ल्याइएको छ । यस अघि प्रतिष्ठानमा जलेर आएका विरामीहरुलाई जेनेरल सर्जरी विभाग अन्तरगत सेवा प्रदान गर्दै आएको भएता पनि उक्त सेवालाई अझ प्रभावकारी र चुस्तदुरुस्त रुपले सञ्चालन गर्न छुट्टै वार्ड सञ्चालनमा ल्याइएको हो । उक्त भवन १२ करोड ३७ लाख लागतमा निर्माण भएको हो।
उक्त उद्घघाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरु, प्रतिष्ठानका पदाधिकारीहरु, सिनेटका सदस्यहरु कार्यकारिणी समितिका सदस्यहरु, डीन, कलेज, विभागीय प्रमुखहरु, प्राध्यापकहरु, डेपुटी, सहायक अस्पताल निर्देशक, सहायक डीनहरु, मेट्रोन, डेपुटी मेट्रोन, सम्पूर्ण प्रोग्रामको अर्डिनेटरहरु, प्रशासनिक, इन्जिनियरिङ, शाखा महाशाखा प्रमुखहरु, प्रतिष्ठानका शिक्षक, चिकित्सक, वार्ड ईन्चार्जहरु लगायत कर्मचारी एवम् विद्यार्थीहरु, धरान उपमहानगरपालिकाका उपमेयर, राजनैतिक दलका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, समाजसेवीहरु, बुद्धिजिवीहरुको उपस्थीती रहेको थियो।