धरान: आज देखि १२४ औँ धरान उत्सव’ सुरु भएको छ ।धरानमा मानव बसोबास सुरु भएको १२४ बर्ष पुगेको अवसरमा विगत वर्षहरुमा झैं यस वर्ष पनि पाँच दिन सम्म उत्सव’ संचालन हुनेछ।
शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध शहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरु, सबै विद्यालयहरुले सांस्कृतिक झाँकी र्यालीसहित धरान–१६ स्थित रङ्गशालको दक्षिण खाली मैदानमा प्रमुख अतिथि ज्येष्ठ नागरिक ७७ वर्षिय श्रमदाता काजिमान गुरुङले पानसमा बत्ती बालेर धरान उत्सवको उद्घाटन गर्नुभएको थियो ।
उहाँले धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्रविक्रम बेघालाई माला लगाई स्वागत तथा धन्यवाद दिनुभएको थियो । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको थियो । धरान संस्कार, संस्कृति, कलाको क्षेत्रमा धेरै अगाडि रहेको नगरप्रमुख राईले बताउनुभयो । पछिल्लो समय धरानले गरेको श्रमसंस्कृतिको विकास सबैले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो।
धरान बहुजाती, बहुभाषि,बहुसंस्कृति रुपमा रहेकोले हरेक कार्यक्रममा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रुपमा रहेको उपप्रमुख आईन्द्र बिक्रम बेघाले बताउनुभयो । संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता धरानमा रहेको उहाँले बताउनुभयो।
धरानमा सबै जाति सबै धर्मलाई सम्मान गर्दै आएको उपप्रमुख बेघाले बताउनुभयो । धरान १२४ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको उपप्रमुख आइन्द्र बेघाले बताउनुभयो ।
धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान उत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष धरान स्थापना भएको १२४ औँ वर्ष पुगेको छ । उत्सवको उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, सबै विद्यालयले पनि उक्त समारोहमा भाग लिएको थियो । सबै सहभागीले धरान उत्सवको ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए ।
धरान उत्सवमा रोटे पिङ तथा बालबालिकाको लागि मनोरञ्जनको गाडी, नाउहरु राखिएको छ भने हरेक साँझ स्थानिय तथा राष्ट्रीय स्तरका कलाकारहरुको साथमा साँगितिक कार्यक्रम हुने छ ।
उत्सव अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइएको छ । उत्सव उद्घाटन समारोहमा धरानलाई उत्कृष्ट कर बुझाएकोमा पाँच जनालाई र सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न सङ्घसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।
उत्सव उद्घाटन समारोहलाई प्रदेश १ का प्रतिनिधि सभा सदस्य रमेशकुमार बस्नेत, विजयकुमार राई, पुर्व प्रमुख तिलक राई, वडाध्यक्षहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम्मा भगिनी सम्बन्ध रहेको नगरपालिकाहरुका प्रमुख तथा प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, संघसंस्थाहरु लगायतको उपस्थिति रहेको थियो ।