धरान: बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ गते देखि २६ गते सम्म हुने भएको छ । धरान फुटबल क्लबले आज सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी भइसकेको जानकारी दिएको हो ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगितामा ८० लाख १० हजार अनुमानित खर्च लाग्ने र प्रतियोगिताको लागी अनुमानित आय १ करोड २ लाख २५ हजार रहेको उहाँले बताउनुभयो । उहाँले बुढासुब्बा गोेल्डकप रोजगारमुलक र व्यवसायी मुलक बनाउने योजना सहित लागिपरिरहेको बताउनुभयो ।
नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबल जगतमा इँटा थप्ने काम गरेको कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताउनुभयो । २०५५ साल देखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २ वर्ष रोकिए पनि त्यस पश्चात निरन्तर भईरहेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), एनआरटी क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब, भुटान फुटबाल क्लब एकाडेमी, त्रिभुवन आर्मी क्लब,ईटहरी जागृत क्लब, युके एफसी (भारत), मच्छीन्द्र क्लब काठमाण्डौ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेताले दश लाख, उपविजेताले पाँच लाख नगद पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट विधाका खेलाडीलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख नगद धरान-१५ निवासी हाल पोर्चुगलमा रहनुभएको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो । गत वर्षको विजेता एनआरटी क्लब काठमाण्डौ र उपविजेता जिल्ला फुटबल संघ मोरङ भएको थियो ।