धरान : गिरीराज सृजनशील पत्रकारिता पुरस्कारबाट
बरिष्ठ पत्रकार कपुरी न्यूजका प्रधान सम्पादक हर्ष सुब्बालाई सम्मान र एभिन्युजका पत्रकार विनय प्रधानलाई पुरस्कृत गरिएको छ।
शुक्रवार आयोजित एक समारोह बिच पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष समितिले’ २५ हजार रुपैयाँ राशि सहित सुब्बालाई सम्मान-पत्र प्रदान गरेको हो ।
यसैगरी एभिन्युजका पत्रकार विनय प्रधानलाई पूर्व प्रधानमन्त्री देउवाले २० हजार रुपैयाँ सहित ‘गिरीराज आचार्य सृजनशीलता पत्रकारिता पुरस्कार-२०८०’ प्रदान गरेका छन् ।
धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले नेपाली काँग्रेसका संस्थापक सुनसरी जिल्ला सचिव गिरिराज आचार्यको सम्मानमा ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष’ स्थापना गरेका हुन ।
राई उपमहानगरपालिकामा नगर प्रमुख रहँदा उनले पाउने तलब/भत्ताको रकम सामाजिक सेवामा लगाउने प्रतिबद्धता जनाए अनुसार उक्त रकम मध्येबाट कोषको स्थापना गरेका हुन । पूर्व नगर प्रमुख राईले यसैगरी शिक्षकहरूलाई प्रदान गरिने शिक्षा पुरस्कार कोष पनि स्थापना गरेका छन् ।
गिरिराज आचार्यद्वारा लिखित ‘वीपी कोइरालाका साहित्यिक विचारहरू’ नामक पुस्तकको तेस्रो परिमार्जित संस्करणको विमोचन समारोहमा पूर्व प्रधानमन्त्रीले लेखककै नाममा स्थापित सम्मान र पुरस्कार प्रदान गरेका हुन । विमोचन समारोह नेपाली काँग्रेस धरान नगर समितिले आयोजना गरेको हो । कार्यक्रममा काँग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश दत्त लेखक लगाएतका केन्द्रीय नेताहरुको उपस्थीती रहेको थियो।