धरान: राष्ट्रिय धान दिवसमा शनिवार धरान ५ खैरेनीमा आयोजित सहभागी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा १० औँ धान रोपाई महोत्सव मनाइएको छ ।
सो धान रोपाई महोत्सवमा पानबारीमा परम्परागत रूपमा उत्पादन हुँदै आएको मनसुली धानलाई ब्राण्डेड गरिने उद्घोष गरिएको छ। अहिले चामल बजारमा ब्राण्डको रूपमा रहेको पानबारी मनसुली चामल लोपोन्मुख अवस्थामा पुगेको छ ।
पानवारी मनसुली चामललाई ब्राण्डको रूपमा स्थापित गर्न रोपाई महोत्सव आयोजना गरिएको कृषि सहकारी अध्यक्ष झुमा राईले बताइन । उनले भनिन ‘आज मात्र १८ कट्ठा धान रोपिएको छ ।’ अझै थप एरियामा पानवारी मनसुली धान रोपिने उनले बताइन् ।
उनका अनुसार धरान ४, ५ र ६ नंं. वडालाई मनसुली धानको क्षेत्र बनाउँदै कार्य गरिएको र निकट भविष्यमा थप एरियालाई कार्यक्षेत्र बनाउने योजना रहेको छ ।
कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले उद्घाटन गरेको रोपाई महोत्सवमा हिले दौड, हिले रस्सी दौड, माछा समात्ने प्रतियोगिता आयोजना गरिएका थियो ।