धरानमा सम्पन्न २४ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आम्दानी खर्चको हिसाब आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको आयव्यय अनुसार गोल्डकपलाई भुक्तानी हुन बाँकी कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रकम बाहेक प्रतियोगिता १७ लाख, २८ हजार, ६०० रुपैयाँ नाफामा देखिएको छ ।
प्रतियोगीताका लागि प्रदेश खेलकुद विकास बोर्डले १५ लाख र राष्ट्रिय खेलकुद परिषद्को १० लाख रुपैयाँ दिने यसअघिनै निर्णय गरिसकेको छ । भुक्तानी हुन बाँकी उक्त रकम प्राप्त भएपछि ४२ लाख रुपैयाँ भन्दा बडी क्लबलाई बचत हुने पत्रकार सम्मेलनमा कोषाध्यक्ष धनबहादुर राईले बताए ।
सबै भन्दा बढी धरान हङकङ मञ्चको संयोजनमा कुल ६ लाख १० हजार रुपैयाँ, धरान युके समाज ५ लाख, धरान युके हेल्पिङ हेण्डस् ४ लाख रुपैयाँ रहेको छ ।
गोल्डकपका संयोजक धरान उपमहानगरपालिकाले ९ लाख रुपैयाँ उपलब्ध गराएको छ । वडा कार्यालयहरूबाट कुल ८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । गोर्खा ब्रुअरी प्रालिबाट ४ लाख, क्कलिटि नुडल्सबाट २ लाख रुपया प्राप्त भएको छ ।
गोल्डकपको २४ औँ संस्करणमा दर्शकहरूबाट १३ लाख ६० हजार रुपैयाँ सङ्कलन भएको छ । उक्त रकम रङ्गशालाको दैनिक गेट टिकटबाट १२ लाख ८८ हजार र सिजनल टिकट बिक्रीबाट ७९ हजार रुपैयाँ प्राप्त भएको हो ।
हाल सम्मको हिसाब अनुसार गोल्डकपका लागि कुल आय ७६ लाख २४ हजार ५८५ रुपैयाँ रहेको छ । हाल सम्म भएको कुल खर्च ५८ लाख, ९५ हजार ६०० सय रुपैयाँ खर्च भएको आयोजक धरान फुटबल क्लबले सार्वजनिक गरेको हो ।
अध्यक्ष प्रताप तामाङले भने, ‘हिसाब पारदर्शी बनाउने हाम्रो प्रतिबद्धता अनुसार एक महिना पनि नबिताई हामीले हिसाब सार्वजनिक गरेका छौँ ।’
अध्यक्ष तामाङले युके, हङकङका साथीहरूले सहयोग गर्ने बचन दिएपछि ‘हाम्रो टिमको रातदिनको खटाइबाट गोल्डकप गर्न सफल भएको’ बताए ।
क्लबका महासचिव नवीन राईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष नरेन्द्र चोङबाङले स्वागत मन्तव्य, एन्फा जिल्ला उपाध्यक्ष भगत चोङबाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बाले गोल्डकपको २४ संस्करण सफल आयोजन गरेकोमा अध्यक्ष प्रताप तामाङ सहितको टिमलाई बधाई दिए ।