धरान उपमहानगरपालिकाले १२३ औं धरान उत्सव शुक्रबारबाट शुरु भएको छ ।केही समय अघि प्रधानमन्त्री पुष्पकमल दाहालले उत्सवको उद्घाटन गर्ने चर्चा गरिए पनि अन्त्यमा उहाँको उपस्थिति नभएपछि धरानकी १०३ बर्षिया वृद्ध चन्द्र माया कट्वालको हातबाट १२३ औ धरान उत्सबको उद्वाटन भएको छ ।

आकर्षणको व्यक्तिको रुपमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साह रहेको थियो । उहाँलाई भेट्नकै लागि भएपनि महोत्सवमा सर्वसाधारणको भीड अत्यन्तै बाक्लो देखिएको थियो ।
मेयर हर्क साम्पाङले दलहरूको सहयोग, सहकार्य अस्वीकार गरेकाले उद्घाटन समारोहमा धरानमा क्रियाशील ५ राजनीतिक दलका स्थानीय नेतृत्वहरू उपस्थित भएनन् । उपमहानगरपालिकाले जनाए अनुसार दल र दलका स्थानीय नेताहरूलाई उपस्थितिका लागि निमन्त्रणा-पत्र पठाइएको थियो ।
नेपाली काँग्रेसका उपमहानगर सभापति श्याम पोखरेलले भने ‘मैले निमन्त्रणा पत्र नपाएकाले नगएको हुँ ।’ उनले पार्टीबाट निर्वाचित वडाध्यक्षहरू समारोहमा उपस्थित थिए । अन्य दलका स्थानीय नेतृत्वहरू पनि समारोहमा नगएको आफूले थाहा पाएको बताए । पूर्व मेयर, उपमेयरहरू पनि अनुपस्थित थिए ।
समारोहको उद्घाटन धरान-९ की १०३ बर्षीया ज्येष्ठ नागरिक चन्द्रमाया कटुवालले गरेकी थिइन् । प्रमुख अतिथि कटुवालले विशिष्ट अतिथि बालेन साह, धरान नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघालाई माला लगाई स्वागत गरेकी थिइन् ।
समारोहमा बालेन साहले संस्कार संस्कृति कलाको बहुआयामिक, बहुसांस्कृतिक सहर धरान काठमाडौँ भन्दा कयौँ गुणा सांस्कृतिक क्षेत्रमा अगाडि रहेको बताए । उनले आफूले थाहा पाए देखि बिपी हस्पिटलको चर्चित स्वास्थ्य केन्द्र रहेको धरान सुन्दर, फेसनेबल सहरको रूपमा बुझैको सुनाए ।

मेयर बालेनले भने ‘धरानका जनता आफ्नो लागि आफै लगानी गरेर बाटोघाटो बनाउने लहुरेहरुको सहरको रूपमा परिचित सहर हो ।’ यसै कारण आधुनिक सहरको रूपमा विकसित गर्न धरानलाई सहज भएको बताए ।
उनले मेयर हर्क साम्पाङको श्रम संस्कृति सबैले नगरपालिकाले सिक्न जरुरी रहेको भन्दै प्रशंसा गरे । धरानका मेयर हर्क साम्पाङले संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता रहेको सहर धरान भएको झल्काएको बताए ।
उनले भने ‘राष्ट्रिय गानले भने जस्तै सयौँ थरीका
फूलका साझा एउटा मालाको रूपमा धरान सहरमा बहुसङ्ख्यक जातीय विविधता रहेको छ ।’ धरानमा हरेक कार्यक्रमहरूमा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृति प्रदर्शन हुने गरेको बताए ।
उपमेयर आइन्द्रविक्रम बेघाले धरान १२३ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बसाएको बस्तीको विकसित रूप भएको बताए । उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, विद्यालय सांस्कृतिक झाँकी सहितको र्यालीमा सहभागी थिए । पब्लिक हाई स्कुलबाट निस्किएका झाँकी सहितको र्याली छाता चोक, टेलिकम हुँदै पुरानो बजार, भानुचोक पुतलीलाईन, सब्जिमण्डी हुँदै पुन: पब्लिक स्कुलमा पुगेर औपचारिक कार्यक्रम सुरु भएको थियो । र्यालीमा धरानका जातीय संस्थाहरूको सहभागिता थियो ।
समारोहमा उत्कृष्ट कर बुझाउने करदाताहरू चेतन अग्रवाल, साबित्रा घले, चिरञ्जीवी अग्रवाल, दिनेश अग्रवाल, निशान्त श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठकालाई सम्मान गरियो । समारोहमा कोशी प्रदेशका सांसदद्वय रमेशकुमार बस्नेत, विजयकुमार राई, पोखरा महानगरपालिका मोतीलाल तिम्सिना लगायतले शुभकामना प्रकट गरेका थिए ।