
धरान: धरान उपमहानगरपालिका–१३ ले वडावासीका लागि निशुल्क एम्बुलेन्स र रगत सेवा उपलब्ध गराउने घोषणा गरेको छ। अबदेखि यस वडाका बासिन्दाले घरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म एम्बुलेन्समार्फत जानु परे वा उपचारपछि डिस्चार्ज भएर घर फर्कनु परेमा कुनै शुल्क तिर्नु पर्ने छैन।
यसैगरी, रगत आवश्यक परेमा यसअघि सरोकारवालाहरुले तिर्दै आएको रु. १हजार ५० रुपैयाँ शुल्क अब १३ नम्बर वडावासीले तिर्नु नपर्ने भएको छ। सेवाको प्रयोग गर्न चाहनेले आफू १३ नम्बर वडामा बसोबास गर्ने प्रमाण हुने कुनै परिचयपत्र देखाउनु पर्नेछ वा वडा कार्यालयमार्फत फोन सम्पर्क गराउन सकिने व्यवस्था गरिएको छ।
एम्बुलेन्स सेवाका लागि नेपाल रेडक्रस सोसाइटी सुनसरीको फोन नम्बर ०२५–५७०२५८, ९८४२०२२०१५ वा ९८४२४५८३३१ मा सम्पर्क गर्न सकिने छ। त्यस्तै रगत आवश्यक परेमा ९८४२०३२१२४ मा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ।
आज भएको औपचारिक कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा र रक्त सञ्चार सेवा केन्द्र धरानसँग सम्झौता पत्रमा हस्ताक्षर गरी यो सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष नेत्र काफ्लेले जानकारी दिनुभयो।
स्थानीय बासिन्दाले वडास्तरमै यस्तो राहतमुखी सेवा सुरु भएकोमा स्वागत गरेका छन्।

