
एकपछी अर्को नेपाली चलचित्र प्रर्दशनमा आईरहेको छ। चलचित्रको प्रचारमा विभिन्न तरिकाहरु अपनाउन थालिएको छ। भदौ १२ गते प्रर्दशनमा आउन लागेको चलचित्र ‘कोशेढुङ्गा’ निर्माण टिमले भने फरक तरिकाले प्रचार गरेको छ।
कोशेढुङ्गा चलचित्र निर्माण टिमले भने चलचित्रको भिडियो सहित कबिता वाचन गरेर सार्वजनिक गरेको छ। कविता वाचन सिनेमाकी मुख्य कलाकार सुरक्षा पन्तले गरेकी छन्। कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ। लिरिकल भिडियोसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ।

ट्रेलरको रुपमा भिडियो सहितको कवितामा टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बन्धमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ। लिरिकल भिडियोमा सिनेमाका अधिकांश मुख्य पात्रलाई देखिन्छ, जसले उनीहरूको चरित्र र भूमिका प्रष्ट पार्छ। कवितांश मार्फत निर्देशकले सिनेमाको केही कथा संकेत गर्न खोजेका छन्। तर, कथा प्रष्ट भने भइसकेको छैन। किस्ताकिस्तामा कथा के हो खोल्दै जाने निर्देशक सरोज पौडेलले बताएका छन्।
चलचित्र कोशेढुङ्गाको तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ। जसमा सिनेमाका मुख्य कलाकार देख्न सकिन्छ। सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले छन्।
केही दिन अगाडि चलचित्रको गीत ‘भंगेरा भगेरी’ सार्वजनिक भएको थियो। चलचित्रको निर्देशन सरोज पौडेलले गरेको हुन। ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ सिनेमा नेपाली दर्शको लागि प्रतिक्षित बनेको छ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको सिनेमा ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेका सिनेमा ‘कोशेढुंगा’को कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ। सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटाले गरेका हुन। नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ। ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो सिनेमा डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ।