
काठमाडौ: एक पछि अर्को हिट चलचित्र निर्माण गर्दै दर्शकहरुलाई गज्जव उपहार प्रदान गर्दै आएको आसुसेन फिल्मसको अर्को प्रस्तुति रहेको यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र “बलिदान” को ४ फरक पोस्टर सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली चलचित्र उद्योगमा व्यापक प्रतीक्षा गरिएको चलचित्र बलिदानको लागि सयौं चलचित्रहरूमा ख़तरनाक खलनायकको भूमिकामा आफ्नो अलग्गै पहिचान बनाइसकेका हेमन्त बुढाथोकी, समयसँगै आफ्नो अभिनय यात्रामा गहिरो प्रभाव जमाएका अर्पण थापा, फरक ढङ्गले समाजलाई प्रतिनिधित्व गर्दै आफ्नै धुनमा यात्रा तय गरेकी ऋचा शर्मा र निर्देशक तथा निर्माता सन्तोष सेनको लुक्स सार्वजनिक गरिएको छ । सेनले आफनो बारेमा भने , केवल कथा भित्र सीमित नभएको ,आफ्नो समाजलाई परिभाषित गरेको पात्रको रुपमा प्रस्तुत गरेर दर्शकहरूमाझ प्रस्तुत गरेको बताएका छन ।
यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। त्यस्तै, अभिनेता सौगात मल्लको रहस्यमय अवतार प्रस्तुत गर्ने पोस्टर र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि–टिजरले पनि व्यापक चर्चा बटुलेको थियो।
यस्तै, चलचित्रको प्रचार प्रसारलाई नयाँ उचाइमा पुर्याउँदै निर्माताले देशभर बलिदान ब्यानर अभियान चलाएका छन्, जसमा देशैभर विशाल ब्यानरहरू राखिएका छन्। बलिदानलाई फरक कथावस्तु, सशक्त प्रस्तुतीकरण र भावनात्मक गहिराइका साथ विदेशी चलचित्रहरूको भीडमा समेत नेपाली सिनेमाको अलग पहिचान बनाउने उद्देश्य लिइएको निर्देशक सेनले जनाएका छन्।
यसअघि बलिदानका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए । सो प्रिटिजर नेपालसहित नेपालीहरूको बसोबास रहेका दर्जन बढी देशहरूमा युट्युब ट्रेन्डिङमा आएको थियो । चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।