
धरानमा जेन-जी आन्दोलनको आवरणमा नेकपा (एमाले) धरान उपमहानगर कमिटीको पार्टी कार्यालयमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति एमालेले गम्भीर खेद व्यक्त गरेको छ। एमाले धरान उपमहानगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई योजनाबद्ध षड्यन्त्र भन्दै दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गरेको हो।
प्रेस विज्ञप्तिमा भनिएको छ कि “शान्तिपूर्ण आन्दोलनको आडमा केही प्रतिगामी तत्वहरूले पार्टीलाई कमजोर पार्ने नियतले कार्यालयमा आगजनी गरेका छन्,” साथै घटनामा पत्रकार बिमल शाक्य, मिलन बान्तवा राई र दिपचन्द्र राई (कान्छी) को संलग्नता पुष्टि भएको दाबी गरिएको छ। पार्टीका अनुसार प्राप्त फोटो र भिडियो प्रमाणले उनीहरू प्रत्यक्ष संलग्न रहेको देखिएको छ।
एमालेले नेपाल सरकारलाई दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र पार्टी कार्यालयमा भएको क्षतिको क्षतिपूर्ति दिलाउन जोडदार माग गरेको छ। साथै, नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, तथा विभिन्न नेताहरूको घरमा भएको आगजनी घटनाको पनि घोर निन्दा गरिएको छ।
विज्ञप्तिमा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पूर्व मेयर मनोज मेन्याङ्बो, कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङका घरमा भएको आगजनीप्रति पनि चिन्ता व्यक्त गरिएको छ।
पार्टीले लोकतन्त्रप्रेमी नागरिक, शुभेच्छुक र सबै नेता–कार्यकर्तालाई यस्ता हिंसात्मक र प्रतिगामी गतिविधिको एकजुट भएर विरोध गर्न तथा कानूनको शासन कायम गर्न दवाब सिर्जना गर्न आह्वान गरेको छ।
प्रेस विज्ञप्तिमा नेकपा (एमाले) धरान उपमहानगर कमिटीका अध्यक्ष हिर्कजंङ् एभेङको हस्ताक्षर रहेको छ।

