
धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वीमा सेवाको प्रथम केन्द्रमा नराखी रेफरल सेन्टरको रुपमा मात्र स्वास्थ्य विमा बोर्डले राखेपछि धरानमा नगर अस्पताल बनाउनुपर्ने माग सर्वत्र चुलिएको बेला कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले धरान १ मा रहेको पुरानो अस्पतालको निरीक्षण गर्दै वास्तविकता बुझ्ने काम गर्नुभएको छ । उहाँले धरानमा नगर अस्पताल बनाउने कुरामा प्रदेश सरकार समेत सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो ।
स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालि रहनु भएका कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री भुपेन्द्र राईले धरानको छाताचोकस्थित पुरानो धरान अस्पतालको निरीक्षण यसलाई नगर अस्पतालमा रुपान्तरण गरेर वीमा सेवाको प्रथम केन्द्र बनाउने अभियानमा प्रदेश सरकार अगाडि बढ्ने आश्वासन दिनुभएको छ । मन्त्री राईले यस विषयमा स्थानीय सरकार धरान उपमहानगरपालिका, सघीय सरकारसँग समेत छलफल र समन्वय भइरहेको बताउदै असोज मसान्तसम्म बीपीबाट नै सेवा प्राप्त हुने त्यसपछिका दिनमा धराने जनतालाई समस्या नहुने ढंगबाट कोशी प्रदेश सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले धरानलाई नगर अस्पतालको आवश्यता चाडो भन्दा चाडो भएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग छलफल र समन्वय गरेर दक्ष नगर अस्पताललाई चाहिने जनशक्ति तथा उपकरणसहितको वीमा सेवाको प्रथम केन्द्र बनाउने पहलमा कोशी प्रदेशले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले वीमाको कोशी प्रदेशका संयोजकलाई मन्त्रालयमा बोलाएर केही समय अगाडि छलफल चलाएको स्पष्ट पार्दै अनुगमनका क्रममा यहाँ नगर अस्पताल बनाउन उपयुक्त स्थान भएको बताउनुभयो ।
बीपीको नाममा रहेको जग्गालाई धरान अस्पतालको नाममा फिर्ता गराउन संघीय स्वास्थ्यमन्त्री पहलसँगै मन्त्रिपरिषद्को निर्णयको आवश्यकता भएकोले यसमा पनि कोशी प्रदेश सरकारले पहल गरिरहने प्रतिबद्धता जनाउनुभयो ।
यता राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले मन्त्री राईलाई नगर अस्पताल बनाउन अभियानमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बीपीको नाममा रहेको जग्गा धरान नगर अस्पतालको नाममा फिर्ता ल्याउने प्रक्रियासँगै नगर अस्पताल स्थानीय सरकारले एक्लै बनाउन नसक्ने भएकोले तीनै तहका सरकारको सहयोगको खाँचो रहेको बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्डले नेपालकै उत्कृष्ट र गुणस्तरीय स्वास्थ्य, शिक्षा प्रदान गर्दै आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टरको रुपमा मात्र मान्यता दिएपछि धरानका नागरिक समाज, राजनीतिक दल लगायत सर्वसाधारण आन्दोलित समेत भएका थिए । उनीहरुले इलाका प्रशासनमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर ध्यानाकर्षणका लागि विविध कार्यक्रमसँगै कोणसभाको आयोजना गरेर विरोध जनाएका थिए । आन्दोलनकै कारण वीमा बोर्डले असोज मसान्तसम्म प्रतिष्ठानले वीमाको पहिलो केन्द्रको रुपमा मान्यता दिए पनि असोज मसान्तपछिको समस्यालाई मध्यनगर गरी धरानेहरुको गुनासो व्यापक आएपछि प्रदेश सरकारका मन्त्री राईले पुरानो अस्पतालको निरीक्षणसँगै धरानेहरुबाट वास्तविकता बुझ्नु भएको थियो । धरानेहरुले भोग्नुपर्ने समस्यालाई आफूले मध्यनजर गरेको र चाडै नै यसको समाधानमा प्रदेश सरकार लाग्ने आश्वासन दिनुभएको छ । निरीक्षणका क्रममा धरान उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष यज्ञमणि आचार्य, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता, धरान उपमहानगरपालिकका पूर्व मेयर तिलक राई लगायत धरानका राजनीतिक दलहरुको उपस्थिति रहेको थियो ।