
धरान: धरान उपमहानगरपालिकाको विजयपुर बोलबम बोलमय बनेको छ । आज तेस्रो हप्ता धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम भक्तजनहरुका अत्याधिक भीड रहेको थियो । अत्याधिक भीड भएका कारण सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्काउटका स्वयम्सेवक, बोलबम समितिले खटाएका स्वयमसेवक लगायतले भीडलाई व्यवस्थित गर्ने काम गरिरहेका थिए । तर अधिकांश भक्तजनहरु पिण्डेश्वर मन्दिरसम्म पुग्न अल्मलिएको अवस्थामा भेटिएका थिए । त्यहाँ रहेको पर्यटन सूचना केन्द्र प्रभावहीन भएकै कारण बोलबममा पहिलो पटक आएका भक्तजनहरु अल्मलिएका थिए ।
विर्तामोडबाट धरानको पिण्डेश्वर मन्दिरमा जल चढाउन पहिलो पटक आउनु भएकी अनु भट्टराई विजयपुर चौकमा आइपुगेर पिण्डेश्वर मन्दिरसम्म पुग्ने बाटो सोध्दै हुनुहुन्थ्यो । छेउमै रहेको पर्यटन सूचना केन्द्रमा गएर सोध्न खोज्दा त्यो केन्द्र बन्द अवस्थामा थियो । २०७८ सालमा धरानमा आउने धार्मिक पर्यटकलाई सूचना प्रदानसँगै धार्मिक पर्यकहरुको लगत राख्ने उद्देश्यले स्थापना भएको यो सूचना पर्यटन केन्द्र कहिल्यै पनि खुल्दैन । जहिल्यै बन्दको बन्दै रहन्छ । पहिलो पटक पिण्डेश्वर मन्दिर जल चढाउन आएकी भट्टराईले सूचना केन्द्र व्यवस्थित नहुदा पहिलो पटक आउनेले दुःख भोग्नु परेको दृष्टान्त सुनाइन् ।
उनीमात्र हैन विराटनगरका उपेन्द्र यादवलाई पनि भट्टराइकै जस्तै समस्या भयो । मन्दिरसम्म पुग्न सास्ती रहयो भने शौचालय कहाँ छ भन्ने कुरा थाहा नहुदा समस्या भोग्नुपर्यो । सूचना केन्द्र भनेर खोलिए पनि नाममात्रको रहेको उनको समेत भनाई थियो ।
यी दुई जना त प्रतिनिधिपात्र मात्र हुन । यस्ता धेरै भक्तजनहरु अल्मलिएका थिए । यो सूचना केन्द्र २०७८ साल पुष १३ गते उद्भाटन भएपनि सञ्चालन भने पौष १ गतेबाट नै भएको बताइएको थियो । यहाँ तथ्यांक राख्ने र विजयपुरका मठमन्दिरमा आउने भक्तजनहरुलाई सूचना दिने उद्देश्यले सञ्चालनमा ल्याएको हो । धरान उपमहानगरपालिकाबाट एक र धरान १४ वडा कार्यालयबाट एक कर्मचारी राखेर शुरु गरिएको यो केन्द्र खुलेको स्थानीयहरुलाई पनि त्यति जानकारी छैन । स्थानीय गोकुल श्रेष्ठले आफू त्यो बाटो दैनिक हिड्दा कहिल्यै नखुलेको बताए ।
यतिमात्र हैन बोलबममा भक्तजनहरुको सुविधालाई अधिकतम ध्यान दिने पिण्डेश्वर बाबाधाम समितिका पदाधिकारीहरुलाई त त्यहाँ सूचना केन्द्र छ भन्ने नै थाहा छैन । यस विषयमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने भन्दै पन्छिने गरेका छन् ।
यता स्थानीयहरुले यस्तो कुरामा सम्बन्धित पक्षले ध्यान नदिनु अचम्मको कुरा भएको बताएका छन् । स्थानीय सुवर्ण श्रेष्ठले सूचना केन्द्र सञ्चालन गर्ने तर सञ्चालनमा गम्भीर नदेखिएको बताउदै त्यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
शान्ति सुरक्षासँगै भक्तजनहरुको सामान सुरक्षित राख्न लक्करको समेत व्यवस्था गरिएको भनिए पनि यस्ता हेर्दा सानो तर गम्भीर विषयमा न त स्थानीय सरकार गम्भीर छ न त समिति नै गम्भीर देखिएको पाइयो । यहाँ पिण्डेश्वर मन्दिरमा महिमाको बर्णन धार्मिक ग्रन्थमा उल्लेख गरेकै कारण पनि भक्तजनहरु अघिल्लो दिनै सुनसरीको चतरामा रहेको सप्तकोशीबाट जल ल्याएर धरानको पिण्डेश्वर मन्दिरमा जल चढाएको भक्तजनहरु बताउँछन् ।
२०३९ सालमा धरानका बुद्धिजीविहरुले साप्तकोशीको जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने परम्पराको शुरुवात गरे पनि यतिका बर्ष वितिसक्दा पनि साना तिना कुरामा सम्बन्धित पक्षको ध्यान गएको पाइएन । लक्कर, शान्ति सुरक्षाको व्यवस्थासँगै व्यवस्थित लाइनमा खटिएका सम्बन्धित पक्षले पर्यटन सूचना केन्द्र सञ्चालन गरेर भक्तजनहरुलाई अझ सुविधा दिन सहज हुने थियो । यसले भक्तजनहरुलाई सुविधा दिनेमात्र हैन, तथ्यांक संकलन गर्न समेत सहयोग पुग्ने थियो । तेस्रो् सोमबार पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने भक्तजनको संख्या उल्लेख्य भए पनि कति आए भन्ने विषयमा तथ्यांक नहुदा पिण्डेश्वर बाबाधाम समिति नै अल्मलिएको प्रष्ट हुन्थ्यो । यसतर्फ पनि ध्यान दिने हो कि ?