
धरान: धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईको उपचारका लागि ६ हजार रुपैया सहयोग जुटेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश उपाध्यक्ष तथा लेखापढी व्यवसायी तिर्थ दाहाल र उहाँकी श्रीमति कोशिला राई दाहालको तर्फबाट ५ हजार, संगठन कोशी प्रदेश सचिव महेश घिमिरे र सदस्य प्रेमप्रसाद पोखरेलबाट पाँच पाँच सय गरि ६ हजार रुपैया सहयोग जुटेको हो ।
मजदुर नेता भीमज्वाला राईले झुपडीमा रोगसंग लड्दै रोशन राई र उपचारमा सहयोग गरिदिन श्रीमतिको अपिल शिर्षकमा समाचार प्रकाशन गरेपछि सहयोग गर्ने इच्छा व्यक्त गरेको सहयोगी तिर्थ दाहाल लगायतले बताउनुभयो । भीमज्वाला राई हाम्रो संगठनको केन्द्रीय अध्यक्ष समेत रहनु भएकाले हामीले सहयोग गरेको र थप सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
बिहिबार राईको अरुणटोल स्थित घरमै भीमज्वाला राई, धरान ८ का वडा अध्यक्ष धनबहादुर राई सहितको टोली पुगेर बिरामी रोशन राईलाई रकम हस्तान्तरण गरिएको थियो । दाउरा बेचेर श्रीमति र एक छोरी पालिरहेका ४० वर्षिय रोशन राई बैशाखदेखि जण्डिस् र मृगौलामा पथरिया भएपछि जीवनमरणको दोसाँधमा छन् ।
चिकित्सकले कलेजो फेर्नुपर्छ १५ लाख जति खर्चहुन्छ भनेपछि आर्थिक अभावमा उनको थप उपचार हुनसकेको छैन । घर चलाउनै गाह्रो भइरहेको उनकी श्रीमति शान्ति तामाङले बताउनुभयो ।
राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पहल गरिरहेको कसैले पीडित परिवारलाई सहयोग गर्न चाहनेले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका भीमज्वाला राईले बताउनुभयो ।