
धरान: नेपाल लोकतन्त्रवादी आदिवासी याक्थुङ (लिम्बू)संघको प्रथम महाधिवेशनको खुल्ला सत्र आज धरान १५ किरात याक्थुङ चुम्लुङ भवनको हलमा सम्पन्न भएको छ।
उक्त कर्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रको प्रमुख अतिथी नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले संघीयताको विकल्प बारे नसोच्न आग्रह गरेका छन् । कांग्रेसका नेताहरू नै बिचलित भएर संघीयताको बिरोध गरेको भन्दै त्यसमा स्पष्ट हुनुपर्ने बताए ।
संघीयता कांग्रेसको विचार भएको र अन्य पार्टी भन्दा अगाडि कांग्रेस संघीयता र विकेन्द्रीकरणको पक्षमा उभिएको स्पष्ट पारे ।
पछिल्लो समय गणतन्त्र बिरोधि भाष्य निर्माण भएको बताउदै उनले राजतन्त्र फर्किने कल्पना समेत गर्न नसकिने दाबी गरे । गणतन्त्र व्यवस्था मात्र नभएर यो संस्कार भएको बताए ।
“गणतन्त्र आफ्नो धर्म र जातमा विश्वास गर्दैगर्दा अर्को जात र धर्मको सम्मानभाव आउने व्यवस्था हो । नेपाली राज्यको धर्म न्याय गर्नु, विभेद नगर्नु, सम्मान गर्नु हो । मंचमा र मनमा एउटै कुरा स्पष्टताका साथ राख्नसक्नु गणतन्त्र हो । महिला, दलित, जनजाति वा अन्य समुदाय प्रति मन्चमा जे बोकिन्छ गोप्य कोठामा पनि त्यहीँ भाव विकास हुनु गणतन्त्र हो,” उनले भने ।
नयाँ पुस्ताका साथिहरूमा गणतन्त्रको संस्कार सिकाउन चाहेको बताउदै उनले कुनै जात वा धर्म वा व्यक्ति एकताको प्रतिक नहुने भनाइ व्यक्त गरे।
लोकतन्त्रबादी अदिवाशी याक्थुङ (लिम्बू) संघका अध्यक्ष उत्तम सि थाङदेनको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका सहमाहामन्त्री भीष्म राज आङदेम्बे, केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्मा, सीता गुरुङ, राजिव ढुङगाना लगाएतका नेताहरुको उपस्थीती रहेको थियो।